Thaha

Tuesday 30 April - 9:44 am NST

५ महिनामा राजश्व संकलन ५० अर्ब रुपैंया घट्यो

काठमाण्डौं, पुस ७ । चालु आर्थिक बर्षको ५ महिनामा राजश्व संकलन ५० अर्ब रुपैयाँले घटेको छ । गएको बर्षको तुलनामा यो आर्थिक बर्षको ५ महिनामा राजश्व संकलन ५० अर्व रुपैयाँले घटेको  हो । यो ५ महिनामा जम्मा २० अर्वको मात्रै निर्यात भएको भने ३६ प्रतिशतले घटेर १ सय ६० अर्बको मात्रै आयात भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार व्यापार घाटा १ सय ४० अर्व रहेको छ । तर विदेश गएका नेपालीले पठाउने बिप्रेषण अर्थात रेमिट्यान्स भने २४ प्रतिशतले बढेर २ सय १५ अर्ब रुपैैयाँ पुगेको छ ।

थाहा संचार नेटवर्कसँगको कुराकानीमा गभर्नर चिरञ्जिवी नेपालले शोधनान्तर बचत २३ अर्व रुपैयाँ रहेको जानकारी दिनुभयो । ९ सय २६ अर्व रुपैयाँ संचिती रहेको जानकारी दिदै गभर्नर नेपालले यो संचितीले २३ महिना बस्तु आयत गरेर मुलुक धान्न सकिने दावी गर्नु भयो । पुँजीगत खर्च जम्म ८ अर्बमा सिमित हुँदा र विकास निर्माणका काम प्राय ठप्प रहँदा सरकारको ढुकुटीमा ८९ अर्ब रुपैयाँ थन्किएको गभर्नर नेपालले वताउनु भयो ।

आन्तरिक रुपमा रोजगारी सिर्जना हुन नसकेको वताउँदै उहाँले भन्नुभयो  "'बजारमा पैसा भएर पनि हामीले काम गर्न सकेका छैनौं,जसले गर्दा पैसाको अत्यधिक चापले गर्दा २ सय ४२ अर्ब रुपैंया बजारबाट लिएर प्रशोचन गरिसकेका छौं ।"  बजारमा पैसा धेरै हुंदा त्यसले मुद्रा स्फिती बढाउने हुंदा आफ्नो मौद्रिक औजार अगाडी बढाईरहेको उहाँले बताउनुभयो । भारतको नाकाबन्दी र मधेश आन्दोलनले सबै नागरिक मर्कामा परेको बताउँदै गभर्नर नेपालले सबैलाई सहज हुने गरी सरकारले बिशेष प्याकेज ल्याउने सम्भावना रहेको बताउनु भयो । "यसका लागि अर्थमन्त्रालय र राष्ट्रबैंक एकदमै सचेत भएर काम गरिरहेको छ, केही समयमै अर्थमन्त्रालयबाट कुनै एउटा प्याकेज आउने सम्भावना छ" गभर्नर नेपालले भन्नुभयो ।

उहाँले बिधि र प्रक्रिया पुरा गर्ने भुकम्प पीडितलाई दुई प्रतिशत व्याजमा ऋृण दिइने बताउनुभयो । बिधि र प्रक्रिया पुरा गर्दा पनि ऋृण नदिए राष्ट्र बैंकमा आउन गभर्नर नेपालले सबैलाई आग्रह गर्नु भयो ।